All poems
तिमी, तिमी बन
October 1, 2026
तिमी मझेरिमा मस्को झरो भन
म मझेरिकै वासिन्दा हुँ!
खरानी लतपतिएको सुनको मस्को थियो
तिमी त्यसलाई जुठो भन!
झलमल जुनेली रातमा टल्किएको
सितले लपक्कै भएको बेलौतिको पात
तिमी त्यसलाई हिरा भन
घामको रापले पग्लिएपछि
म यसलाई झरेको पात नै भन्छु।
लहलह कोदो झुमेको बेला
मुसाहरूले दुलोबाट माटो खसालिरहँदा
तिमी मुसालाई कोदोको शत्रु भन
म कोदोको बाला र मुसालाई
प्रकृतिको सुन्दर परिकल्पना मान्ने छु।
तिमी वैशमा सुन्दरीको आँखाको
परेलिको बनावट हेर
त्यहाँ खैरो, कालो मधुर कलरको
सजावटको मोहनी रूप हेर
म मधुर कलरबाट खसेका आँसुहरूको
सम्बन्धको उपन्यास कोर्ने छु!
सगरमाथामा टल्किएका हिउँका परिकल्पनाहरू
मस्तिष्कका झिल्कासँगै
तिमी, तिमिनै भएको कल्पना गर
म छेपारो र माकुराको कुस्तीको
स्वकल्पित कविता कोरौँला।
तिमी, तिमी बन
म, म र प्रकृति बीचको
संवादको ध्वनि बनिरहुला!