All poems
तिमी ‘कफि’ र ‘म’
October 1, 2026
तिमी कफि र म
आज फेरि भेट भयो
तिमीलाई मौसम चिसो भएको
मनै पर्दैन।
मलाई बहाना चाहिएको
पत्तै हुँदैन।
तिमीलाई त सधैँ खडेरी परे
हुन्थियो लाग्ला
तर त्यस्तो हुँदैन
मलाई मौसम बादलु भैरहे लाग्ने
तर त्यस्तो नि हुँदैन।
तिमीलाई भेट्न बहाना नबनाए नि हुने हो
प्रकृतिले वर्षा नगरे पनि हुने हो
तर
बहानामा तिमीलाई भेट्दाको मज्जै अर्कै
चैतमा फिरफिरे उडाए जस्तै।
मनमा उकुस–मुकुस हुँदा, तिमीलाई भेट्छु
विहान उठ्दा मन बाङ्गो भए, तिमीलाई भेट्छु
तिमीलाई मैले भेट्न नआए हुने भन्ने लाग्दो हो
बहानाले आवश्यकता बन्छ, म के गरूँ?
तिमी चानचुने त हैनौ नै
तिमीले कतिलाई कवि बनायौ
कतिको व्यापार चलायौ
ठुस्स परेको मनहरू
टेबलमा बसाएर मिलायौ।
आज मलाई तिमीबाट न लिनु छ न दिनु
बस, तिमी आयौ बहाना बनेर
झरी पर्यो, खडेरी परेर
तिम्रो मिठासमा, प्रकृतिको सुन्दर अनुभव
साट्नु छ, त्यो पल तिम्रो साथमा।