Noetic Gnosis· चेतनादृष्टि
All poems

तिमी, तिमी बन

October 1, 2026

तिमी मझेरिमा मस्को झरो भन म मझेरिकै वासिन्दा हुँ! खरानी लतपतिएको सुनको मस्को थियो तिमी त्यसलाई जुठो भन! झलमल जुनेली रातमा टल्किएको सितले लपक्कै भएको बेलौतिको पात तिमी त्यसलाई हिरा भन घामको रापले पग्लिएपछि म यसलाई झरेको पात नै भन्छु। लहलह कोदो झुमेको बेला मुसाहरूले दुलोबाट माटो खसालिरहँदा तिमी मुसालाई कोदोको शत्रु भन म कोदोको बाला र मुसालाई प्रकृतिको सुन्दर परिकल्पना मान्ने छु। तिमी वैशमा सुन्दरीको आँखाको परेलिको बनावट हेर त्यहाँ खैरो, कालो मधुर कलरको सजावटको मोहनी रूप हेर म मधुर कलरबाट खसेका आँसुहरूको सम्बन्धको उपन्यास कोर्ने छु! सगरमाथामा टल्किएका हिउँका परिकल्पनाहरू मस्तिष्कका झिल्कासँगै तिमी, तिमिनै भएको कल्पना गर म छेपारो र माकुराको कुस्तीको स्वकल्पित कविता कोरौँला। तिमी, तिमी बन म, म र प्रकृति बीचको संवादको ध्वनि बनिरहुला!