All poems
निर्दोष शब्दहरू
October 1, 2026
अक्षरहरूको मिसावटबाट शब्दहरू बनाएपछि
परिभाषाको नाममा व्याख्या त हुन्छ होला
शब्दहरू त भौतिक हुन्
बिचरा जे भन्न लगायो त्यही बोल्छन्।
निर्दोष शब्दहरूलाई घात किन?
तिनीहरू त बिचरा दासी न हुन्
अक्षरहरूबाट मिठा शब्द सिर्जित किन?
अमिला, अरिमठ्ठे शब्द प्रहार भए पनि
मन गुलियो र रसिलो भएपछि!
शब्द त भावनालाई रूपान्तरण गर्ने न हो
शब्दमा के नै त्यस्तो छ र
बिचरा शब्द
जे सोच्यो त्यही फुत्त निकालिदिने त हो!
मन गुलियो भएर, अमिलो शब्द निस्केछ रे
शब्दले त बिचरा निर्जीव के नै गर्छ र
गर्ने त मनले हो
मनै वाङ्गो भएपछि शब्द जति सोझो भए पनि के
बिचरा शब्द, दोष तिनीहरूको के नै हो र!