All poems
बिम्बरहित स्वर्ग
October 1, 2026
लामो उत्साहपछि
उसले झोला बोक्यो
मस्तिष्कमा एउटा धमिलो बिम्ब छ
त्यो उसले सुनेर बनाएको बिम्ब हो।
त्यस्तो–उस्तो हुन्छ अरे
स्वर्ग भनेको त्यही पनि भन्छन्।
भनेको स्वर्गको यात्रामा
अन्धकारको छाया पछ्याउँदै
उसले सुटकेस डोर्यायो
अनि लाग्यो!
मनमा अब न उत्साह छ
न अन्धकारको छाया
ऊ मात्र शून्य छ।
पहिलो दृश्यमा उसले सुनेको स्वर्ग हेर्छ
उसको बिम्ब र दृश्यमा द्वन्द्व हुन्छ
अझै बिम्बको जित सम्झेर
ऊ अपरिचितसँगको यात्रामा हिँड्छ।
न माटोमा सुगन्ध मिल्छ
न खानामा स्वाद भेटिन्छ
न लवजमा आफू भेटिन्छ
न प्रकृतिले चिन्छ
न आफुले प्रकृतिलाई चिन्छ।
उसले अझै बिम्बमा आशा देख्छ
देखेको सत्यभन्दा सुनेको बिम्ब प्यारो बन्छ
आज बिसौँ बसन्त गए
न माटोले मितेरी लाउन भन्छ
न लवजले सारथि जस्तो मान्छ
न खानाले प्यार दिन्छ
ऊ मात्र त्यही बिम्ब सम्झन्छ
अनि कुदिरहन्छ।
न बिम्ब बिर्सन सक्छ
न देखेको सत्य मान्न तयार नै हुन्छ
ऊ बिम्बको ललिपप खान्छ
र
मात्र कुदिरहन्छ।
उसले के खोजेको त्यो नि थाहा छैन
के पाउने हो त्यो पनि थाहा छैन
कति कुद्ने हो पनि थाहा छैन
कहिले माटोमा सुगन्ध भेटिने हो
त्यो पनि थाहा छैन
कहिले प्रकृतिले अंकमाल गर्ने हो
त्यो पनि थाहा छैन
र पनि
ऊ मात्र दगुरिरहेछ
न बिम्ब भेट्छ
न सत्य मान्नै तयार हुन्छ
र ऊ सदाका लागि
बिम्बरहित स्वर्ग प्रस्थान गर्छ!